एजेन्सी । लाखौं नेपाली नागरिकहरु रोजगारीमा रहेको मलेसियामा मोबाइल फोन चोरीको एउटा घटनाले देशभर बबाल मच्चिएको छ । मोबाइल चोरीको घटनाले यति ठूलो रुप लिएको छ कि त्यहाँका प्रधानमन्त्रीले समेत त्यसबारे आफ्नो धारणा सार्वजनिक बाध्य भएका छन् ।
प्रधानमन्त्रीले यस घटनाको भित्री कथा बाहिर ल्याउँदै देशमा भित्रभित्रै सल्किरहेको जातीय द्वन्द्वको आगोको समेत उजगार गर्न पुगेका छन् । ११ जुलार्इमा क्वाललाम्पुरको एक सपिङ मलमा स्थानीय मलाया मूलका दुर्इ मानिसले एक दोकानबाट मोबाइल फोन चोरी गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो ।
मलाया समुदायका युवाले मोबाइल चोरेको दोकानका मालिक भने चिनियाँ मुलका थिए । मलेसियास्थित स्ट्रेट्स टाइम्सका पत्रकार सेनोन तिओहले बिबिसीलार्इ बताएअनुसार पक्राउ परेकामध्ये एक युवालार्इ प्रहरीले छाड्नेबित्तिकै उनले केही साथीसहित लिएर ती चिनियाँ मूलका ब्यापारीमाथि मरनासन्न हुने गरी कुटपिट गरेका थिए । मलेसिया
यो घटनाक्रमलार्इ प्रत्यक्ष हेरिरहेका एक व्यक्तिले भिडियो बनाएर फेसबुकमा हालिदिए । जुन भिडियो केही दिनमै ८ लाख पटक सेयर भइसकेको छ । भिडियो हेरेपछि सामाजिक सञ्जालमा चिनियाँ समुदायविरुद्ध जातीय टिप्पणीको वर्षा नै शुरु भयो ।
घटनाले उग्ररुप लिएपछि प्रधानमन्त्री नाजिब रजाकले पनि फेसबुकबाट चेतावनी दिँदै यो घटनालार्इ अपराधिक मामिलाकारुपमा हेर्नुपर्ने धारणा सार्वजनिक गरे । उनले अपराधिक घटनालार्इ जातीय रंग दिइएको प्रति कडा आपत्ति जनाउँदै भीडको शासनको मानसिकताबाट जोगिन पनि जनतालार्इ अपिल गरे ।
बीबीसीका अनुसार मोबाइल चोरिनु तनाबको बाहिरी कारण भए पनि भित्री कारण भने फरक रहेको छ । गतिला र ठूलो पोस्टका जागिरमा चिनियाँले कब्जा जमाउन थालेपछि रुस्ट भएका स्थानीय मलाया समुदायको आक्रोशका रुपमा यो घटनालार्इ लिइएको छ ।