प्रचण्ड पर्दै घेराबन्दीमा, बाबुरामको छुट्टै पार्टी, शीर्षनेता लिँदै पार्टीबाट छुट्टी

काठमाडौँ, १३ साउन ।
प्रचण्डबाट एमाओवादीको भावी अध्यक्षमा उधारो आश्वासन पाएपछि मत्थर देखिएका बाबुराम भट्टराई समानान्तर कमिटी बनाउन सक्रिय छन् । केन्द्रीय समितिमा रहेका पक्षधरलाई समेटेर समानान्तर केन्द्रीय समिति बनाइसकेका छन् भने यसमातहत सबै जिल्ला र जनवर्गीय संगठन तथा मोर्चामा कमिटी बनाउन निर्देशन जारी गरेका छन् ।
यसअघि बाबुराम पक्षका नेताको कार्यविभाजनसहितको माइन्युटको प्रतिलिपि गंगा श्रेष्ठले फोटोकपी गर्ने ठाउँबाट चुहाएपछि प्रचण्डको हातसम्म पुगेको थियो । त्यसपछि श्रेष्ठलाई निलम्बनको कारबाही गरियो । गत साता काठमाडौंमा सम्पन्न बैठक एवं काठमाडौं र भक्तपुरमा आयोजित भेलामा बाबुरामले संविधान निर्माणपछि प्रचण्डसँग सम्बन्धविच्छेदको संकेत गरेका छन् । उनले यो पार्टीलाई बदलेर नयाँ शक्ति बनाउने सम्भावना लगभग समाप्त भएकाले संविधान निर्माणपछि नयाँ विचार र नयाँ शक्ति पक्षधरले पहलकदमी लिई पार्टीबाहिरको ठूलो तप्कालाई समेटेर अघि बढ्नुपर्ने बताएका थिए ।
भेलामा कार्यकर्ताले पहिले अध्यक्ष बनाइदिने आश्वासन पाएपछि चुपचाप बसेको तर अहिले पुनर्निर्माण प्राधिकरणको अध्यक्ष बन्न नदिएपछि बार्गेनिङ गर्न समानान्तर गतिविधि गरिएको त होइन भनी प्रश्न सोधेका थिए । बाबुरामले कार्यकर्तालाई आश्वस्त पार्दै अव प्रचण्डसँगै बसियो भने उनी आफू त सकिन्छन् नै आफूहरूको अस्तित्वसमेत समाप्त हुने बताए ।
बाबुराम भट्टराईको समानान्तर बैठकमा टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, नवराज सुवेदी, कुमार पौडेल, प्रभु शाह, गंगा श्रेष्ठ, रामरिझन यादव, देवेन्द्र पराजुली, वामदेव क्षेत्री, कर्णध्वज केसी, कल्पना धमला, वलावती शर्मा, खिमलाल देवकोटा, लीलबहादुर थापा, सोनामसिंह स्याङ्तानसहित ३७ केन्द्रीय नेता सहभागी रहेको र बालकृष्ण ढुंगेलसहित थप केहीले बैठकमा नआए पनि समर्थन जनाएको स्रोतको दाबी छ । विगतमा बाबुराम पक्षमा रहेका राम कार्की, चन्द्रप्रसाद खनाल, डोरप्रसाद उपाध्याय, माधव शर्मालगायतले भने साथ छाडिसकेका छन् ।
यसैबीच, बाबुरामले केही समयअघि मोहन वैद्य समूहवाट छुट्टिएर अलग पार्टी खोलेका नेत्रविक्रम चन्दसँग भेट गरेका छन् । नेत्रविक्रम चन्दले प्रचण्डसँग टाँसिएर नबस्न सुझाव दिँदै नयाँ ढंगले अघि बढ्ने विषयमा छलफल गर्दै जानुपर्ने बताएको स्रोतको दाबी छ ।
यसैगरी, अघिल्लो साता भारत भ्रमणमा जाँदा र आउँदा बाबुराम भट्टराई एयरपोर्ट नगएकोमा प्रचण्डले दुःखमनाउ गरेका छन् । शनिबार आफू पक्षधर केही नेतासँग लाजिम्पाटमा भेट्ने क्रममा प्रचण्डले बाबुरामलाई एयरपोर्टमा भेटौँ भन्दा पनि उनी ५ बजेसम्म बिनाकाम पेरिसडाँडामा बसेको तर आफूलाई बिदाइ गर्न नआएको बताएका थिए । आउने बेला पनि स्वागत गर्न नगएका बाबुरामले आफूलाई सुष्मा स्वराजसँग बिन्तीपत्र हालेर भारत गएको भनी आरोपित गरेकोप्रति पनि प्रचण्डले आपत्ति जनाएको बताइन्छ । लाजिम्पाट स्रोतले दिएको जानकारीअनुसार बाबुरामले गुप्तचर एजेन्सीका मान्छे लगाएर आफ्नो भ्रमण रोक्न खोजे पनि सफल नभएको भन्दै प्रचण्डले भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको अनुभव सुनाएका थिए । प्रचण्डले आफ्नो भारत भ्रमण र त्यहाँ भएका कुराकानीबारे शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र मधेसी नेता विजयकुमार गच्छदारलाई जानकारी गराएका छन् ।
प्रचण्डलाई साथ दिँदै आएका नारायणकाजी श्रेष्ठले यसै साता नरबहादुर कर्माचार्यको स्मृति दिवस कार्यक्रममा प्रचण्ड एकलौटी ढंगले अघि बढेको आरोप लगाएका छन् भने सोही मञ्चबाट प्रचण्डले आफूलाई उपाध्यक्ष श्रेष्ठसहितका नेताले नै असहयोग गरिरहेको जवाफ फर्काएका छन् । प्रचण्डनिकट हेमन्तप्रकाश ओली र लोकेन्द्र विष्टको राजीनामा, लेखराज भट्ट र गोपाल किरातीको फरक मत एवं जनार्दन शर्माहरूको संविधानसभा र पार्टीभित्रको फरक मतले उनी झन् अप्ठ्रोमा परेका छन् ।
जनार्दन शर्माले रूपान्तरण अभियानका नाममा वैद्य पक्षका हितमान शाक्य र पम्फा भुसालसँग धेरै हिमचिम बढाइरहेकोप्रति प्रचण्ड सन्तुष्ट छैनन् । प्रचण्डले अहिले जसरी भए पनि साउनभित्रै संविधान जारी गर्ने, त्यसपछि ओली नेतृत्वको सरकारमा सहभागी बन्ने, मोहन वैद्यहरूसँग एकता प्रक्रिया अघि बढाउने र एमालेसँग कार्यगत एकता बलियो पारेर मात्रै स्थानीय चुनावमा जाने सोच बनाएको बताइन्छ । जनआस्थाले लेखेको छ ।
बाबुराम भट्टराई अलग हुन चाहन्छन् भने अब उनका लागि धेरै अनुनय–विनय र भने अनुसार पद दिने पक्षमा छैनन् । ‘सधैँ किचकिच गरेर संगठन अस्तव्यस्त पार्नुभन्दा सल्लाह गरेरै छुट्टाछुट्टै पार्टी बनाऔँ, पछि एक हुन पनि सकिन्छ भन्ने पक्षमा अध्यक्ष हुनुहुन्छ,’ एक पोलिटब्युरो सदस्यले भने ।