साप्ताहिक ब्लोअप : सरिना स्थापित

काठमाडौ, श्रावण १५ - ६ महिनाअघि सम्पन्न ‘मिस नेवा:–११३५’ मा सहभागिता जनाउनु पहिले गणबहाल, काठमाडौंकी सरिना स्थापितको परिचय बीबीएकी छात्राका रूपमा मात्र सीमित थियो । नेप्लीज फेसन होमको उक्त प्रतियोगितामा ‘मिस नेवा:’ को उपाधि जितेपछि सरिनाको परिचय मात्र होइन, व्यक्तित्वमै परिवर्तन आयो ।

‘मानिसहरूका अगाडि बोल्नसमेत लजाउँथें,’ सरिना भन्छिन्— ‘मिस नेवा:को प्रशिक्षणमा सिकाइएका कुराले आज मलाई हरेक कुरामा अघि बढ्न सहयोग पुर्‍याएको छ । म कुनै पनि कुरा व्यक्त गर्न सक्षम भएकी छु ।’ सरिना अहिले नेप्लिज फेसन होम सोसल वेलफेयर विङको वेलफेयर एम्बेसडरका रूपमा कार्यरत छिन् ।

सानैदेखि सामाजिक कार्यमा रुचि राख्ने सरिना वैशाख १२ गतेको भूकम्पपछि अधिकांश प्रभावित जिल्लाको भ्रमण गर्दै राहत वितरणमा सहभागी भइन् । सरिनाका अनुसार त्यसक्रममा उनले पीडितहरूको दु:ख नजिकबाट नियाल्ने अवसर प्राप्त गरिन् ।



नेपाल कलेज अफ म्यानेज्मेन्टमा बीबीए अन्तिम वर्षमा अध्ययरनत २२ वर्षीया सरिना ५ फिट ६ इन्च अग्ली छिन् । ‘मिस नेवा:’ अघि कुनै पनि सौन्दर्य प्रतियोगिता तथा फेसन शोमा सहभागिता नजनाएकी सरिना बीबीएको अध्ययनपछि मात्र ग्ल्यामरको क्षेत्रमा करियर बनाउने कि नबनाउने भन्ने टुंगोमा पुग्ने छिन् । चलचित्र तथा म्युजिक भिडियोबाट आएका केही प्रस्ताव पढाइकै कारण अस्वीकार गरिसकेकी सरिना यात्रा गर्न मन पराउँछिन् । फुर्सदमा उपन्यास पढ्न रुचाउने सरिनालाई आफ्नो व्यक्तित्वमा सबैभन्दा राम्रो लाग्ने पक्ष के होला ? सरिना भन्छिन्— ‘मानिसहरूले मेरो मुस्कान असाध्यै राम्रो छ भन्छन् तर मलाई आफ्ना आँखा राम्रा लाग्छन् ।’