यी हुन् विश्वकै पहिलो टेस्ट–ट्युब बेबी

काठमाडौं, श्रावण ९ । अंग्रेजी क्यालेन्डरको जुलाई २५ तारिख विश्वभरमै विशेष छ । प्रविधि र मेडिकल साइन्सका लागि यो दिन विश्वमै खास हुन पुगेको हो ।

यही दिन अर्थात् वर्ष सन् १९७८ जुलाई २५ तारिखमा विश्वकै पहिलो टेस्ट–ट्युब बेबी लुइस ब्राउनको जन्म भएको थियो । इंग्ल्यान्डको म्यानचेस्टरस्थित ओल्डहाम जनरल हस्पिटलमा जन्मिएकी लुइस शनिबार (आज) ३७ वर्षकी भएकी छन् । त्यसयता विश्वभर लाखौं व्यक्तिले यस प्रविधिमार्फत् सन्तान प्राप्त गरिसकेका छन् ।

नेपालमै पनि हालसम्म टेस्ट–ट्युब बेबीको संख्या पाँच सय नाघिसकेको तथ्यांक केही दिनअघि सार्वजनिक भएको थियो ।

विश्वकै पहिलो टेस्ट–ट्युब बेबी लुइसले पहिलोपटक आफ्नो बालापनका बारेमा अनुभव साटेकी छन् ।

‘सुन्नमा कति राम्रो लाग्छ कि म विश्वको पहिलो टेस्ट–ट्युब बेबी हुँ । यसले इतिहाससँग जोडिएको अनुभूति दिलाउँछ । तर, यसका पछाडि कठीन पलहरु पनि छन् । जसलाई पहिले मेरो ममी–बुबा र पछि मैले भोगें’–लुइस भन्छिन् ।

‘मेडिकल साइन्स र मिडियाका लागि म एक आश्चर्य र सेलिब्रेटी थिएँ । तर, कट्टरपन्थी र रुढिवादी मानिसका लागि भने ‘सैतानको सन्तान’ थिएँ । एक परिवारको छोरी थिएँ, तर कयौं व्यक्ति मलाई ‘ल्याबमा जन्मिएको मुसा’ जस्तो सम्झिन्थे’–उनले अतित स्मरण गरिन् ।

‘हाम्रो घरमा विश्वभरबाट चिठ्ठीहरु आउँथे । केही प्रेमले भरिएका हुन्थे । केहीमा मेरो बारेमा ज्यादै नराम्रा कुराहरु लेखिएका हुन्थे । तीन महिनाको थिएँ, कसैले मेरो नाममा एक पार्सल पठायो । आमालाई लाग्यो कसैले उपहार पठाएको होला । खोलेर हेर्दा त्यसभित्र रातो रंगको एक चिठ्ठी थियो । जसमा लेखिएको थियो–‘टेस्ट–ट्युब बेबी वारेन्टी कार्ड’ । साथमा दुईओटा टुटेको ट्युब र प्लास्टिकको टुक्रा थियो । मेरो आमाका लागि सायद त्यो नै सबैभन्दा दुःखद पल होला’–उनले विगत बताइन् ।

उनी भन्छिन्–‘अलिकति ठूली भएँ तैपनि मुस्किल कम भएन । मानिस मलाई अनौठो नजरले हेर्ने गर्थे । मेरो जिन्दगीको लामो समय आफैंलाई एक आम किशोरी या व्यक्ति सावित गर्नमै बित्यो ।’

पहिलो टेस्ट–ट्युब बेबी लुइसले आफ्नो जीवनका यस्तै अरु अनुभवमाथि पुस्तक लेखेकी छन् । ‘माइ लाइफ एज द वल्र्ड्स फस्र्ट टेस्ट–ट्युब बेबी’ नामक यो पुस्तक आगामी अगस्त १ तारिखमा सार्वजनिक हुने जनाइएको छ । (एजेन्सी)