प्रहरीले अस्पतालमा उपचार गर्न आएका क्याम्पस टोलका मोहम्मद आलमलाई समेत अस्पतालभित्रै प्रहरीले लाठी चार्ज गरेको मोर्चाको आरोप छ । आन्दोलनकारीले घरका छत र सडकबाट प्रहरीमाथि ढुंगा, ईंटा, चिरपट, पेट्रोल र बोतल वर्षाएका छन् । आन्दोलनकारीलाई भगाउन घटनास्थल नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुका साथै ४३ राउड अश्रुग्यासका सेलहरु प्रहार गरेको प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खाले जानकारी दिए । तौलिहवा बजारमा दिनभर तनाव सुरक्षाकर्मी र प्रदर्शनकारीबीच एकले अर्कालाई लखेट्ने काम बुधवार अपरान्हदेखि साँझसम्मै जारी थियो । घटनाका कारण तौलिहवा बजार तनावपूर्ण बनेको छ ।
प्रशासनले अघोषित रुपमा पूर्व कपिलवस्तु नगरपालिका, पश्चिम मालटोल, उत्तर कालिका टोल, नापी, मालपोत कार्यालय र दक्षिण तौलिहवा अस्पतालसम्म घेरावन्दी गरी प्रदर्शनकारीलाई निषेध गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच भिडन्तमा मंगलवार ४ जनालाई गोली लागेको थियो । उक्त घटनाको आक्रोशमा प्रदर्शनकारीहरु पुनः भिडन्तमा उत्रेका हुन् । आन्दोलनकारीले कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नापी कार्यालयमा तोडफोड एवं अगजनी गरी क्षति पुर्याएका छन्