सीमा नाकामा बन्द नखुलेको भन्दै आज फेरी झडाप(भिडियो हेर्नुस)

भारतसंगको सीमा नाकामा जारी अवरोधका माझ मालबाहक सवारीसाधनको आवतजावत खुकुलो पार्न सहजीकरण गर्ने भनी दिल्लीले आश्वासन दिएको भोलिपल्ट आइतबार नाका अवरोधको अवस्थामा धेरै परिवर्तन देखिएन।
मुख्य भन्सार नाका वीरगञ्ज ठप्प नै रह्यो भने विराटनगरमा खुकुलो पार्ने सहमति दुई देशका स्थानीय अधिकारी माझ भएको खबर आयो।
अन्य पूर्व तथा पश्चिमका नाकाहरुमा विस्तारै केही रोकिएका मालवाहक ट्रक, ट्यांकर तथा कन्टेनरहरु नेपाल भित्रिन थालेका छन्।
पश्चिमको सुनौली नाका भारतीय पक्षले पाँच दिन अघि देखि नै केही खुकुलो पार्दै आएको भए पनि नेपालका लागि सामान लिएर आएका मालवाहक ट्रक तथा कन्टेनरको त्यहाँ लामो लाइन देखिन्छ ।
तयारी
नाकामा देखिएको सवारी आवागमनलाई व्यवस्थित गर्ने भनेर भारतको परराष्ट्र मन्त्रालयबाट जानकारी आएको भन्ने खबरले ती गाडीहरु अब भारतले निर्वाध रुपमा यता आउँदा कसरी व्यवस्थित रुपमा पठाउने भनेर हामी पूर्वतयारी गरेर बसेका छौं।
रविन्द्रप्रसाद प्याकुरेल, अधिकृत, भैरहवा भन्सार कार्यालय
भन्सार अधिकारीहरुका अनुसार साघुंरो बाटोमा ठूला गाडीको व्यवस्थापन र कागजी प्रक्रियाका कारण उता रोकिएका सबै गाडी नेपाल आउन भने अरु केही दिन लाग्ने छ।
भैरहवा भन्सार कार्यालयका एक अधिकृत रविन्द्रप्रसाद प्याकुरेलले भने, "नाकामा देखिएको सवारी आवागमनलाई व्यवस्थित गर्ने भनेर भारतको विदेश मन्त्रालयबाट सबै निकायहरुमा जानकारी गराएको भन्ने खबर आएको हुनाले ती गाडीहरु अब भारतले निर्वाध रुपमा यता आउँदाखेरि कसरी व्यवस्थित रुपमा पठाउने भनेर हामी पूर्वतयारी गरेर बसेका छौं।"
आइतबार सो नाकाबाट तरकारी, फलफूल, मार्बल आदि लिएर केही गाडीहरु नेपाल प्रवेश गरेको बताइएको छ।
निर्देशन
हामी लोड गर्न भारतको बैतालपुरमा अत्यधिक लोड दिन्छौं भन्ने खबर माथिल्लो तहमा आएकोले निर्देशन अनुसार मैले आज ४०/५० वटा ट्यांकर लोडका लागि त्यहाँ पठाइसकेको छु।
दिनेश यादव, निगमका क्षेत्रीय प्रवन्धक
यस्तै नेपाल आएल निगमका अनुसार सो नाकावाट आइतबार पेट्रोल र डिजेल बोकेका केही ट्याकंर तथा एलपी ग्यासका केहि वुलेट नेपाल भित्रिएका छन्।
भारतीय पक्षवाट पेट्रोलियम पदार्थको आपूर्ति अव सहज गर्ने खवर गरे पछि नेपालबाट ट्यांकरहरु भारत पठाइएको निगमका क्षेत्रीय प्रवन्धक दिनेश यादवले बीबीसीलाई बताए।
उनले भने, "सोमबारदेखि भारतको बैतालपुर जहांबाट हामी लोड गर्छौं यो नाकामा त्यहाँ अत्यधिक लोड दिन्छौं भन्ने खबर माथिल्लो तहमा आएकोले निर्देशन अनुसार मैले आज(आइतबार) ४०/५० वटा ट्यांकर लोडका लागि बैतालपुर भारत जान पठाइसकेको छु।"
उता आजै जोगवनी नाकामा रोकीएका मालवाहक ट्रक तथा ट्याकंरहरु नेपाल पठाउन भारतीय अधिकारीहरु सहमत भएको वताईएको छ भने पुर्वको मेची तथा पश्चिमको नेपालगंजवाट पनि सामान वोकेका ट्रक कन्टेनर तथा ट्याकंरहरु नेपाल भित्रिएको वताईएको छ।
वार्ता टोली गठन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बन्द र नाकाबन्दीजस्ता आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्दै सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
आइतबार राजधानीमा बसेको मोर्चाको बैठकले ठोस प्रस्ताव सहित वार्तामा आउन सरकार र तीन दललाई आग्रह गरेको छ।
सरकारले मोर्चाका प्रमुख दुई माग सम्बोधनको प्रयासमा संविधान संशोधनको प्रयास अघि बढाएका बेला मोर्चाको पछिल्लो निर्णय आएको छ।
वार्ता टोलीमा मधेशी जनअधिकार फोरमका लालबाबु राउत, तराई मधेश लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, सदभावना पार्टीका लक्ष्मणलाल कर्ण र तराई मधेश सदभावना पार्टीका रामनरेश राय छन्।