भारतले नाकाबन्दी नखोल्दा आज यसरी लडाई चल्यो दुई देशबिच

तीन दिनअघि बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नाकाबन्दीबारे सीधै कुरा गर्ने निर्णय गरेको थियो ।
बैठकले मोदीसँग हटलाइन कुरा गर्न प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिएको थियो । तर, २४ घण्टा बित्दा पनि प्रधानमन्त्री कोइरालाले मोदीसँग सम्वाद गर्न सकेका छैनन् ।
‘हामीले कुराकानी गर्ने प्रयास गरिरहेका छौं, तर भारत सरकारले खासै रेस्पोन्स गरिरहेको छैन’ दिल्लीस्थित नेपाली दूतावास स्रोतले अनलाइनखबरसँग भन्यो- उनीहरु राम्रो हुँदैछ भन्छन्, तर राम्रो भएको भए त व्यवहारमा देखिनुपर्ने हो, नाकाहरु सहजरुपमा खुल्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन ।’
भारत झनै अनुदार देखियो
नेपालका कूटनीतिक अधिकारीहरुले जति नै प्रयास गर्दा पनि भारतले नाकाबन्दी खोल्नेबारे तदरुकता देखाएको छैन ।
दिल्लीमा रहेको नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय पक्षसँग कुरा गर्ने प्रयास गरिरहका छन् । तर, सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्वाद हुन सकेको छैन ।
कोइराला र मोदीबीच नै कुरा गर्ने तीन दलीय निर्णयबारे अनलाइनखबरले सोध्दा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दीनेश भट्टराईले अनविज्ञता प्रकट गरे । साथै समस्या समाधानका लागि पहल भइरहेको भन्दै उनले भने-‘देखिने गरी नजिता नआउँदासम्म नगरेको जस्तै देखिन्छ । अहिले त्यस्तै अवस्था छ ।’
अब के गर्ने भन्नेबारे छलफल भइरहेको र इन्धनको अभावका कारण जनताले पाएको दुःखप्रति प्रधानमन्त्री कोइराला चिन्तित रहेको उनले बताए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आपूर्ति सहज बनाउने प्रयास भइरहेको बताए । भारतीय अधिकारीहरुले राम्रो हुँदैछ भने पनि व्यवहारमा नदेखिएको उनको गुनासो छ । अनलाइनखबरसँग फोनमा कुराकानी गर्दै राजदूत उपाध्यायले दसैंतिहारमा इन्धन र औषधी आपूर्ति गराउने प्रयास भइरहेका बताए ।
नेपालमा नयाँ संविधान जारी भएदेखि मधेसमा चर्किएको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी लगाएको छ । बोलीमा नाका सहज पारिने बताए पनि व्यवहारतःअहिलेसम्म भारतले नाका खोल्नुको साटो झनै कडा पारेको छ