काठमाडौंको रत्नपार्कमा यस्तो विकृति फैलिएपछि

मिडियाले अन्तर्वार्ता नलिने, ठूला मञ्चहरूमा आफ्नो कुरा राख्न नपाउने, कसैले कुनै सभा या कार्यक्रममा भाषण गर्न ननिम्त्याउने यी मानिस यो फोहोर रत्नपार्कमा उम्दा बहस गरिरहेका छन् । यिनीहरू न ‘उच्चस्तरीय राजनीतिक कार्यकर्ता’ हुन् न त ‘शक्तिका खेलाडी’ । यी त सडकछाप मान्छे हुन्, वास्तविक अर्थमा ‘जनता’ हुन् जो बोल्न जान्दछन् र जान्दछन् पाखुरी बजारेर खान । यी बिरक्तिएका छन्, निरास छन्, यिनका ओठमा केही गुलेली मार्का शब्दहरू या मट्यांग्राहरू छन् र दुईचारजना देख्नासाथ झरिहाल्छन्, जजमान देखेपछि जुत्ता फुकाल्ने बानी परेका पुरेतका खुट्टाझैँ ।
रत्नपार्कसँग के आकर्षण छ मलाई थाहा छैन । तर, मलाई चाहिँ अहिलेसम्म यसले मोहनी लगाउन सकेको छैन । खलाँसीहरू गाडी ठटाएर यसको विज्ञापन गर्दा छन् तर किन–किन यो पार्कलाई सम्झँदा मेरो मनमा हरियाली फक्रँदैन, शीतल हावाले हान्दैन । बरु बोटबिरुवासमेत धुलैधुलोले कुरूप पारेका, दुबोहरू सुकेर निर्जीव भइसकेका खग्रास अनि रुखो भूमिको प्रतिविम्बले हान्छ एक्कासि । अनि, यहाँ छिर्ने मान्छे पनि त्यस्तै लाग्छ मलाई, सिमेन्टीको खस्रो बोराले ढाड खस्य्राएका खस्रा मानिसहरू मात्र । बसपार्कबाट झरेपछि कामै नहुँदा बरालिन कहिलेकाहीँ नछिरेको भने हुइनँ तर काठमाडौं कञ्जन हुँदाबखतको, नजिकैको रानीपोखरी र यसबीच सडकले विभाजन नल्याइसक्दाको अवस्थाको ‘निर्मल’ विरासत अहिले रत्नपार्कसँग छैन । साँझ परेपछि वाक्क लाग्दो मेकअपमा सजिएर भरिया अनि मजदुरलाई सय रुपियाँमा रात बिताउन लोभ्याइरहेकी घीनलाग्दी सिँगाने केटी र रत्नपार्क उस्तै लाग्छ हिजोआज । त्यसैले हरेकपटक बिरक्तिएको छु म, यहाँभित्र छिर्दा । यसले एकचोटि पनि मेरो मन रिफ्रेस पार्न सकेको छैन ।
समयले जतिसुकै मैल्याए पनि रत्नपार्कले आफूलाई नामेट हुन भने दिएको छैन । काठमाडौंको मुख्य ट्रान्जिट प्वाइन्ट योभन्दा अर्को छैन राजधानीमा । नामै यति चल्तीको छ कि लोकतान्त्रिक आन्दोलनपछि सामन्ती राजसंस्थासँग सम्बन्धित नाम बदल्ने लहर चल्दा पनि ज्ञानेन्द्रकी कान्छी आमाको नामबाट राखिएको यसको नाममा कुनै बदलाव आएको छैन । नजिकैको रत्नराज्यलक्ष्मी क्याम्पस ‘नेपाल मानविकी’ बनेको त उहिल्यै हो ।
काठमाडौं आउनु र यो लोकेसन थाहा नपाउनु हुनै सक्तैन । त्यसो भएको हो भने केही गल्ती छ भन्ने बुझ्नैपर्छ । रत्नपार्क नआई कोही काठमाडौं कसरी आएको भन्न मिल्छ ? यसका वरिपरि देशकै सबभन्दा जेठा र जीर्ण रोगी शैक्षिक तथा स्वास्थ्यसंस्था छन् : वीर अस्पताल, त्रिचन्द्र कलेज, दरबार हाइस्कुल । मुलुककै सबभन्दा ठूला मस्जिद यससँगै टाँसिएका छन् । सँगै घोडेजात्रामा उधुम मच्चाउने विशाल टुँडिखेल छ, पोखरीमा आगो लागेर माछा उफ्रेर घन्टाघर चढ्ने भनिएको रानीपोखरी छ । पहिले खुलामञ्च भनिने अहिलेको सहिदमञ्च छ, जहाँ पहिले विपक्ष भेला हुन्थ्यो, अहिले सत्ताको भेला भएपछि विपक्ष वसन्तपुरतिर सरुवा भएको हुन्छ । लोकतन्त्रको सत्ता कति खतरनाक हुँदो रै’छ भन्ने थाहा पाउन पनि रत्नपार्क धाउनैपर्छ । एकप्रकारले काठमाडौं पुग्न रत्नपार्क पुग्नैपर्छ ।
रत्नपार्कको चलायमान गतिले बताउँछ– यसले सारा मुलुक जोडेको छ । फरक विचार बोकेका मानिसको जमघट, दैनिक गुजाराका लागि गरिएका अनेकखाले व्यवसाय र सस्तोमा आफ्नो भग्न जवानीलाई बेच्न बसेका युवतीहरू । यी हरेकका आफ्नै व्यथा छन् । यी सबैको भिजुअल एक्पेरियन्स देखाइरहेछ रत्नपार्क ।







एउटा बटुकोभरिको सङ्लो पानीमा दर्जन घडी डुबाएर आफूअघिको पेटीमा लम्किने हरेक बटुवाको आँखामा आशातीत दृष्टि फैलाउँदै चिसोमा बसेको ठिटो मस्त छ, आफ्नो भविष्यप्रति । लाग्छ– ऊ निश्चिन्त छ, अरू दौडने र घिस्रिने बटुवाहरूजस्तो कुनै चिन्ता उसमा छैन । ‘प्रचण्डले संविधानसभा पुन: ब्युँताउन गरेको हत्कण्डाको स्कुप’ बेच्न सन्ध्याकालीन पत्रिकाको खात बोकेर चिच्याइरहेका साइज–साइजका हकर पनि आफ्नै हतारोमा छन् । रोइरहेको आकाशमुनि पानीको कुनै परबाह नगरी प्याटप्याट हात्तीछाप चप्पल पड्काउँदै सुपर ग्लु, पर्स, मोजा आदि बिकाउन चर्को स्वरमा चिच्याउँदै हिँडेको सानो बालक, अलि साइडको फुटपाथमा चिरा पारेर थालमा राखिएको काँक्रो वा खरबुजा बेच्ने कुनै जवान युवतीका विवशता रत्नपार्क टुलुटुलु हेरिरहेछ । वेदनायुक्त समाचार बन्न लायक हकर आफैँचाहिँ कहिल्यै ‘स्कुप’ न्युज बन्न सक्दैन । बुझ्नै नसकिने यी परिदृश्य बोकिरहेको रत्नपार्क हिजोआज कुनै एब्स्ट्रयाक्ट आर्टजस्तो मात्र लाग्न सक्छ । दुनियाँका नजरमा ‘चरित्रहीन’ हरूलाई आश्रय दिने रत्नपार्कमै छ, विदेशी भूमिमा पसिना पोख्न जाने निमुखा ठिटाहरूको ‘चरित्र ठीक छ’ भनेर प्रमाण दिने महानगरीय प्रहरी कार्यालय ।

सिमसिमे झरीको कुनै असारे–साँझ म निर्धक्क उभिएको छु रत्नपार्कमा । ढुंगाको प्रतिमामा भिजिरहेका लौहपुरुष गणेशमान सिंह आफूअघि चना–चटपटे बेचिरहेका हुललाई हेरिरहेका छन् । चाउरी परेको छालामा डेट एक्सपाएर पाउडर घसेर एउटा मस्त पुरुष फेला पार्ने आशामा उभिएकी आइमाईको मनोदशा गणेशमानले बुझे/बुझेनन्, थाहा छैन । लाग्छ, गणेशमानलाई रत्नपार्क गजबको लोकेसन भएको छ । सबै परिवर्तन जो टुलुटुलु हेरिरहेछन् ।
सहरको कुनै ओसिलो गल्लीको कोठामा ग्यास सिद्धिएको झोँकमा दुई/चार ग्लास घुटुक्क पारेर रत्नपार्क पुगेको कुनै पुरुष देश सराप्दै हल्लिरहेको हुन्छ । रातो लिपिस्टिक लगाएकी कुनै ‘नानी’ पनि फुटपाथमा उभिएको कुनै पुरुषलाई सम्भावित ग्राहक ठानेर भनिरहेकी हुन्छे– जाने हो ? कुनैबेला ग्राहक उदार भए उसको कमिसनको रेट बढ्ने सम्भावना हुन्छ । दैनिकजसो ‘शरीर सुख’ का लागि बार्गेनिङ चलिरहेको हुन्छ ।
‘एक घन्टाका लागि हो भने पाँच सय, पूरै रातका लागि हो भने एक हजारभन्दा कममा चैँ हँुदैन, नो बार्गेनिङ !’ साँझ ढल्दै गर्दा मैले धेरैपटक रत्नपार्कमा यही वाक्य सुनेको छु । करिब १४ वर्षका किशोरीदेखि ४० वर्ष हाराहारीका महिलाहरू खुलेर मोलमोलाइ गरिरहेका हुन्छन् । केटाहरू सिधै ‘पैसा कति लिने गरेको छ ?’ भनेर सोध्छन् । कुरा मिल्यो भने एकछिनलाई कोठामै पनि लैजान सक्छे–‘मायालु †’ । दाम मिलेन भने केटाहरू भनिरहेका हुन्छन्– ‘