वीरगन्ज तनावग्रस्त, गोली लागेर एक भारतीयको मृत्यु

कार्तिक १६, २०७२- चालीस दिनदेखि अवरुद्ध वीरगन्ज–रक्सौल नाका खोल्न खोज्दा सोमबार यहाँ व्यापक तनाव भएको छ । सुरक्षाकर्मीले मितेरी पुलमा जारी धर्ना हस्तक्षेप गरी हटाएको विरोधमा सीमा प्रहरी चौकी इनर्वामा आक्रमण गर्न आएका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा एक भारतीयको मृत्यु भएको छ । मितेरी पुलमा प्रहरीले बल प्रयोग गरी धर्नाकारीलाई हटाएको विरोधमा बिहानैदेखि वीरगन्जको छपकैया, नगवा, मुर्ली, घण्टाघर, पावरहाउस चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै बाँस र लाठी प्रयोग गरी सडक अवरोध गरेका थिए । मितेरी पुलबाट करिब ४ सय मिटर उत्तरमा रहेको शंकराचार्य गेटसम्म प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै सुरक्षाकर्मीलाई लखेटेका थिए । गेट छेउमा रहेको सीमा प्रहरी चौकी इनर्वामा सुरक्षाकर्मी पसिसक्दा पनि ढुंगा प्रहार रोकिएको थिएन । चौकी आक्रमण गर्न आउने प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । सीमावर्ती रक्सौल नागा रोड निवासी अशोक रामका १९ वर्षीय छोरा ‘सोनु’ भनिने आशिष रामको मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका उनको शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पतालमा उनका आफन्तले शव पहिचान गरेका हुन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले सीमा प्रहरी चौकीमा आक्रमण गर्न आएका आन्दोलनकारीलाई तितरबितर पार्न हवाई फायर गरिएको बताए । ‘ढुंगा प्रहार गर्ने एक प्रदर्शनकारीको मृत्यु भएको हो,’ उनले भने, ‘ढुंगा प्रहारबाट २ सईसहित ८ प्रहरी घाइते भएका छन् ।’ उक्त क्षेत्रमा प्रदर्शनकारीले पेट्रोल बम र एसिड प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । अन्तिम अवस्थासम्मै संयम अपनाएको प्रहरीले चौकीसम्मै प्रदर्शनकारी आएपछि गोली चलाएको एसपी श्रेष्ठले बताए । संघीय समावेशी मधेसी मोर्चाका राजेशमान सिंहले भने शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरी आतंक सिर्जना गरेको आरोप लगाए । ‘सरकारसँगको वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको अवस्थामा बिहान धर्नाकारीको संख्या कम देखेर लाठीचार्ज गरी आगोमा घिउ  छर्कने काम प्रहरीले गरेको छ,’ उनले भने । अपराहन नगवा र घण्टाघरमा भएको झडपमा ८ प्रदर्शनकारीलाई रबरको गोली लागेको थियो । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । थप क्षति हुन नदिन स्थानीय प्रशासनले अपराहन ३ बजेदेखि वीरगन्ज बजार क्षेत्रमा अनिश्चितकालका लागि कफ्र्यु जारी गरेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । ३ बजेबाट कफ्र्यु जारी भए पनि साँझ ६ बजेसम्म प्रदर्शनकारीले सहरका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका थिए । धर्नामा भारतीय बिहान ५ बजे मितेरी पुलबाट आन्दोलनकारीलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी हटाएको थियो । त्यसक्रममा धर्नामा बसेका २ भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको थियो । भारत मोतीहारीका मो.जमरुद्दिन, समद अन्सारी, रौतहटका हरेन्द्र राना, बाराका वीरबहादुर महतो र वीरगन्जका जगत पटेललाई प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएको थियो । अवरोध हटेपछि वीरगन्ज नाकामा रोकिएका ४ सयभन्दा बढी खाली भारतीय गाडी रक्सौल गएका थिए । धर्नाका कारण ती गाडी नाकामा अडकिएका थिए । एक साताअघिदेखि भारतीय चालकले घर फिर्ताको वातावरण बनाइदिन वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा बस्दै आएका थिए । भारतीय नम्बरका सवारी साधन रक्सौल कस्टम पास नहुँदासम्म भारतीय प्रहरीले धर्नाकारीलाई हटाउन नेपाल प्रहरीलाई सघाएका थिए । पुलमाथिको अवरोध हटेपछि रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुण कुमार रजक सहयोगीसाथ पुलमा आएर नेपाली सुरक्षाकर्मीसँग छलफल गरेका थिए । ‘नाकामा अहिले कुनै अवरोध छैन,’ कान्तिपुरसँग रजकले भनेका थिए, ‘अब रक्सौलतिरबाट पनि नेपालका लागि सवारी साधन आउने छन् ।’ उनले यसबाहेकका अन्य सबै नाका सुचारु भइसके पनि यो मात्र किन ठप्प पार्नु भनेर जिज्ञासा राखेका थिए । रक्सौल कस्टमको ढाँटबाट प्रदर्शनकारीलाई मितेरी पुलमा आउन दिएका थिएनन् । नेपालतिरको दशगजा क्षेत्रमा प्रदर्शनकारीलाई आउनमा नेपाल र भारतका प्रहरीले रोक लगाएको थियो । ‘बिहान १० बजेसम्म यताबाट सबै गाडी पास भएपछि भारतीय प्रहरीले प्रदर्शनकारीलाई पुलमा आउन रोकेनन्,’ एक प्रत्यक्षदर्शीले भने, ‘सबै भारतीय गाडी पुलबाट पास भइसकेपछि भारतीय प्रहरीले सवारी साधनको सट्टा भारतीय अधिकारीले प्रदर्शनकारी पठाइदिए ।’ नाकाको अवरोध हटेपछि पारि रक्सौलमा रोकिएका नेपाल आउने सवारी साधन मुलुक भित्रिने यताका सुरक्षा अधिकारीले विश्वास लिएका थिए । वीरगन्ज भन्सारबाट ५ सय मिटर उत्तरमा रहेको रजतजयन्ती चोकमा सुरक्षाकर्मीले सञ्चारकर्मी र रक्सौल जाने यात्रुलाई मात्र छाडेको थियो । पुलमा आउन प्रदर्शनकारी सहायक बाटो प्रयोग गरी रक्सौल कस्टम हुँदै बिहान १० बजेपछि मितेरी पुल पुगेका थिए । प्रदर्शनकारीको संख्या बढेसँगै पुलबाट सुरक्षाकर्मीमाथि अन्धाधुन्ध ढुंगा प्रहार सुरु भएको थियो । दशगजाबाट प्रहरी पछाडि सर्दै इनर्वा चौकी परिसरमा आएको थियो । त्यहाँ पनि प्रदर्शनकारीले ढुंगा प्रहार जारी राख्दा गोली प्रहार भएको थियो । लगंडी र महुवन प्रहरी चौकीमा आक्रोशित प्रदर्शनकारीले तोडफोड गरेका छन् । वीरगन्जको गण्डकचोकमा रहेको सहिद तेजबहादुर अमात्यको सालिक तोडफोड गरी ढालेको स्थानीय सञ्जय यादवले बताए । बारामा प्रदर्शन आन्दोलन क्रममा वीरगन्ज–रक्सौल नाकाबाट मधेसी मोर्चाका कार्यकर्ता र समर्थकलाई प्रहरीले हटाएको विरोधमा बाराको कलैया, जितपुरलगायत स्थानमा पनि प्रदर्शन भएको छ । जितपुरमा प्रदर्शन बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर र १२ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले जितपुरमा ट्रकमाथि ढुंगा प्रहार गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । वीरगन्जबाट सिमरातर्फ जाँदै गरेको ना५ख ९२८३ नम्बरको ट्रकमाथि ढुंगा प्रहार गर्दा विराटनगर घर भई हाल पथलैया बस्दै आएका ४५ वर्षीय मोहन सहनी घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । थप उपचारका लागि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको प्रहरी निरीक्षक पुरुषोत्तम खडकाले बताए । प्रदर्शनकारीले जितपुरस्थित लालका पुलनजिक रोकी राखेका ५ वटा टाटा सुमो र ४ वटा ट्रकमाथि ढुंगा प्रहार गरी क्षति पुर्‍याए । ढुंगा प्रहारबाट गाडीका सबै सिसा फुटेका छन् । प्रदर्शनकारीले त्रिपाल टाँगेर सडक अवरुद्ध गरेका छन् । घटनामा संलग्न भएको आरोपमा गढीमाई–७ जितपुरका ४० वर्षीय रामबाबु गुप्ता कलवारलाई नियन्त्रणमा लिइएको खडकाले बताए । प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शनमाथि हस्तक्षेप गरेकाले झडप भएको दाबी गरेका छन् । यसैबीच सर्लाहीमा मधेसी मोर्चाको आन्दोलनमा एक्येबद्धता जनाउँदै वैश्य समाजले सदरमुकाम मलंगवामा जुलुस प्रदर्शन गरेको छ । अपराहन निस्केको जुुलुसमा कलवार, सुडी, तेली र कथवनियाहरू सहभागी थिए । जिविस चोकबाट नाराबाजी गर्दै निस्केको जुलुस नगर परिक्रमापछि तीनबिघे मैदानमा पुगेर कोणसभामा परिणत भएको थियो ।