विरगन्ज घटनामा मारिएको आन्दोलनकारीको विरोधमा आज फेरी झडप,सेनाहरू डराए


चालीस दिनदेखि अवरुद्ध वीरगन्ज–रक्सौल नाका खोल्न खोज्दा सोमबार यहाँ व्यापक तनाव भएको छ । सुरक्षाकर्मीले मितेरी पुलमा जारी धर्ना हस्तक्षेप गरी हटाएको विरोधमा सीमा प्रहरी चौकी इनर्वामा आक्रमण गर्न आएका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा एक भारतीयको मृत्यु भएको छ । मितेरी पुलमा प्रहरीले बल प्रयोग गरी धर्नाकारीलाई हटाएको विरोधमा बिहानैदेखि वीरगन्जको छपकैया, नगवा, मुर्ली, घण्टाघर, पावरहाउस चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै बाँस र लाठी प्रयोग गरी सडक अवरोध गरेका थिए । मितेरी पुलबाट करिब ४ सय मिटर उत्तरमा रहेको शंकराचार्य गेटसम्म प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै सुरक्षाकर्मीलाई लखेटेका थिए । गेट छेउमा रहेको सीमा प्रहरी चौकी इनर्वामा सुरक्षाकर्मी पसिसक्दा पनि ढुंगा प्रहार रोकिएको थिएन । चौकी आक्रमण गर्न आउने प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । सीमावर्ती रक्सौल नागा रोड निवासी अशोक रामका १९ वर्षीय छोरा ‘सोनु’ भनिने आशिष रामको मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका उनको शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पतालमा उनका आफन्तले शव पहिचान गरेका हुन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले सीमा प्रहरी चौकीमा आक्रमण गर्न आएका आन्दोलनकारीलाई तितरबितर पार्न हवाई फायर गरिएको बताए । ‘ढुंगा प्रहार गर्ने एक प्रदर्शनकारीको मृत्यु भएको हो,’ उनले भने, ‘ढुंगा प्रहारबाट २ सईसहित ८ प्रहरी घाइते भएका छन् ।’ उक्त क्षेत्रमा प्रदर्शनकारीले पेट्रोल बम र एसिड प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । अन्तिम अवस्थासम्मै संयम अपनाएको प्रहरीले चौकीसम्मै प्रदर्शनकारी आएपछि गोली चलाएको एसपी श्रेष्ठले बताए । संघीय समावेशी मधेसी मोर्चाका राजेशमान सिंहले भने शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरी आतंक सिर्जना गरेको आरोप लगाए । ‘सरकारसँगको वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको अवस्थामा बिहान धर्नाकारीको संख्या कम देखेर लाठीचार्ज गरी आगोमा घिउ  छर्कने काम प्रहरीले गरेको छ,’ उनले भने । अपराहन नगवा र घण्टाघरमा भएको झडपमा ८ प्रदर्शनकारीलाई रबरको गोली लागेको थियो । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । थप क्षति हुन नदिन स्थानीय प्रशासनले अपराहन ३ बजेदेखि वीरगन्ज बजार क्षेत्रमा अनिश्चितकालका लागि कफ्र्यु जारी गरेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । ३ बजेबाट कफ्र्यु जारी भए पनि साँझ ६ बजेसम्म प्रदर्शनकारीले सहरका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका थिए । धर्नामा भारतीय बिहान ५ बजे मितेरी पुलबाट आन्दोलनकारीलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी हटाएको थियो । त्यसक्रममा धर्नामा बसेका २ भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको थियो । भारत मोतीहारीका मो.जमरुद्दिन, समद अन्सारी, रौतहटका हरेन्द्र राना, बाराका वीरबहादुर महतो र वीरगन्जका जगत पटेललाई प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएको थियो । अवरोध हटेपछि वीरगन्ज नाकामा रोकिएका ४ सयभन्दा बढी खाली भारतीय गाडी रक्सौल गएका थिए । धर्नाका कारण ती गाडी नाकामा अडकिएका थिए । एक साताअघिदेखि भारतीय चालकले घर फिर्ताको वातावरण बनाइदिन वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा बस्दै आएका थिए । भारतीय नम्बरका सवारी साधन रक्सौल कस्टम पास नहुँदासम्म भारतीय प्रहरीले धर्नाकारीलाई हटाउन नेपाल प्रहरीलाई सघाएका थिए । पुलमाथिको अवरोध हटेपछि रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुण कुमार रजक सहयोगीसाथ