स्कुले जीवनमा कहिल्यै दोस्रो नभएकी ज्योति क्षेत्रीको लक्ष्य डाक्टर बन्ने थियो। तर अहिले उनी लक्ष्य र रुचिको दोसाँधमा उभिएकी छन्। तीक्ष्ण स्वभावकी ज्योतिका लागि डाक्टर बन्न गाह्रो छैन तर ग्ल्यामर क्षेत्रमा उनको आकर्षण बढ्दो छ।
एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिस टिन आइडल २०१४' को ताज चुमेपछि ग्ल्यामर क्षेत्रमा उनको रुचि बढेको हो। २०१४ सालमै म्युजिक भिडियोमा मोडलिङका साथै सुवास जीसी निर्देशित चलचित्र 'अखडा'बाट रजतपटमा डेब्यु गरेकी उनलाई अभिनयबाट पनि अगाडि बढ्न सकिन्छ भन्ने आत्मविश्वास जागेको छ।
'मेडिकल कि ग्ल्यामर क्षेत्रबाट अगाडि बढ्ने भन्ने मेरा अगाडि दुईवटा बाटा देखा परेका छन्। मनमा ग्ल्यामर क्षेत्रप्रति आकर्षण बढ्दो छ तर बाटो तय भएको छैन', ज्योति भन्छिन्, ‘पढाइ राम्रो छ भने डाक्टर, पाइलट नै बन्नुपर्छ भन्ने छैन। प्रतिभावान्का लागि ग्ल्यामर क्षेत्रमा पनि अवसर छ।'
कक्षा १ देखि १० सम्म कहिल्यै दोस्रो भइनँ । स्कुलमा म सबैको आकर्षण थिएँ । धेरैले मन पराउँथे । केटाहरू प्रेमपत्र लेखेर पठाउँथे । यो क्रम कलेजमा पनि त्यत्तिकै चल्यो।
खोटाङमा जन्मेकी ज्योति पाँच वर्षको उमेरदेखि राजधानीमा छिन्। एसएलसीमा ८६ प्रतिशत अंक ल्याएकी विज्ञानकी विद्यार्थी उनी अहिले प्लस टुको रिजल्टको पखाईमा छिन्।
उनलाई स्कुले जीवनको रोमाञ्चक क्षण झलझली याद आउँछ। 'कक्षा १ देखि १० सम्म कहिल्यै दोस्रो भइनँ । अतिरिक्त क्रियाकलापमा पनि अगाडि भएकाले स्कुलमा म सबैको आकर्षण थिएँ। धेरैले मन पराउँथे।
केटाहरू प्रेमपत्र लेखर खुब पठाउँथे', ज्योति स्मरण गर्छिन्, ‘स्कुलमा हुने वक्तृत्वकला, वादविवाद, हाजिरिजवाफदेखि नृत्यमा समेत म धेरैपटक पुरस्कृत भएको छु। त्यति बेलै म कलाक्षेत्रप्रति आकर्षित थिएँ।'
ज्योतिलाई मन पराउनेहरू कलेजमा पनि त्यत्तिकै थिए तर उनको मनले कसैलाई पछ्याएको छैन। 'मलाई अनेकन शैलीमा धेरैले प्रेम प्रस्ताव राखेका छन् तर म कसैप्रति आकर्षित भएकी छैन । प्रेम गर्ने बेला पनि भएको छैन। विवाहको त के कुरा गर्नु', उनी भन्छिन्।
पढाइ राम्रो छ भने डाक्टर, पाइलट नै बन्नुपर्छ भन्ने छैन। प्रतिभावान्का लागि ग्ल्यामर क्षेत्रमा पनि अवसर छ । मेरो पनि यस क्षेत्रप्रति आकर्षण बढ्दो छ तर बाटो तय भएको छैन।
चलचित्र एवं मोडलिङ क्षेत्रमा ग्ल्यामरस छवि हुनेहरूको क्रेज बढी छ। ज्योतिलाई पनि ग्ल्यामरस छविको आकर्षणले लोभ्याउन थालेको छ।
'यो क्षेत्रमा कि आउँदै नआउनु, आएपछि ग्ल्यामरस छविका साथ प्रभावकारी रूपमा आउनुपर्छ', ज्योति भन्छिन्, 'म भर्खर १८ वर्षमा हिँड्दैछु। ग्ल्यामरस देखिन त्यति धेरै मेहनत गर्ने बेला भएको छैन तर त्यसका लागि म आतुर छु।'