१२ साउनमा हिरोइन केकी अधिकारी अमेरिका उड्ने
अमेरिका नेपाली कलाकारका लागि स्वर्गभूमि रहँदै आएको छ । ओरालो लागेका मात्र होइन, सफलताको शिखर चुमिरहेका कलाकार पनि अमेरिका भनेपछि मरिहत्ते गर्छन् । यसरी भासिएका फिल्मी कलाकारको ठूलै डफ्फा उतै छ । जसमा युना उप्रेती, मुकेश ढकाल, रञ्जना शर्मादेखी सुधांशु जोशीसम्म पर्छन् । भूकम्पपछि निशा अधिकारी र नन्दिता केसी पनि अमेरिका पुगिसकेका छन् । उनीहरू फर्कने/नफर्कने टुंगो छैन । अब पालो आएको छ,
हिरोइन केकी अधिकारीको । अमेरिकाले उनलाई पाँचवर्षे मल्टिपल भिसा दिएको हो । अमेरिकाका विभिन्न सहरमा हुने सांस् कृतिक कार्यक्रममा सहभागी हुन १२ साउनमा उनी अमेरिका उड्ने बताइएको छ । पछिल्लो समय केकीका फिल्म आशातीत सफल हुन सकेका छैनन् । बरू अभिनय शैली दोहोरिएको भन्दै उनले आलोचना खेप्नुपरेको छ । सोही कारण केकी स्थायी रूपमा अमेरिकामै बस्ने आशंका धेरैको छ । यद्यपि, केकीले दुई महिनापछि फर्कने भनाइ सार्वजनिक गरेकी छन् ।