विराटनगर, श्रावण २ । पूर्वी नेपालमा शुक्रबार साँझ घरेलु हिंसाका दुई घटना प्रकाशमा आएका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको उर्लाबारीमा एक पुरुषले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् भने उदयपुरको लिम्पाटारमा एक महिलाले आफ्नो श्रीमानलाई खुकुरी प्रहार गरेकी छन् ।
उर्लाबारी नगरपालिका–३ घर भई सोही नगरपालिका–२ मा सब्जी पसल गर्दै आएका ५५ वर्षीय केशव मगरले आफ्नै श्रीमती ५० वर्षीया डोल्मा मगरलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । श्रीमतीलाई खुकुरी प्रहार गरेपछि केशवले आफ्नै पेटमा खुकुरी हानी आत्महत्याको प्रयास गरेका थिए । तर, उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । डोल्माको भने उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।
घरायसी विवादमा केशवले डोल्मालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
उता, उदयपुरको लिम्पाटार–२ बस्ने २८ वर्षीया मोहनसरी राईले घरायसी विवादकै कारण आफ्नै श्रीमान ३० वर्षीय निरकुमार राईलाई खुकुरी प्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट दाहिने पाखुरा र घाँटीमा चोट लागेर गम्भीर घाइते भएका निरकुमारलाई उपचारका लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मोहनसरीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।