सुनसरी, श्रावण १ । धारिलो हतियार प्रयोग गरी सुनसरीको धरान–८ का २३ वर्षीय भेसु मगरको हत्या भएको छ ।
विहीबार राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । मगरको अनुहार र शरीरका विभिन्न भागमा हतियारले काटेका गम्भीर चोट देखिएका छन् ।
/आन्तरिक झगडाका कारण स्थानीय एक युवासँग यसअगाडि पनि कुटाइ खाएका मगरले औषधि–उपचार माग गरेका कारण उनको हत्या गरिएको अनुमान गरिएको छ ।
भेसुकी आमा रामकुमारीले छोराको हत्या गर्नेहरुको नाम प्रहरीलाई दिइसकेकाले हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले भेसुका हत्याराको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको जानकारी दिए ।
भेसुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ