निषेधित क्षेत्र तोड्न खोजेपछि काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार दिउँसो झडप
राप्रपा नेपालका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार दिउँसो झडप भएको छ । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राखेर प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । माईतिघरबाट ¥याली सहित बानेश्वर पुगेका राप्रपा नेपालका नेता था कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेका थिए । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपका क्रममा आफ्ना दुई दर्जन प्रदर्शनकारी घाइते भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज र केहि राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
बानेश्वरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको प्रहरी हस्तक्षेपछि सञ्चारकर्मीसँग अध्यक्ष कमल थापाले प्रहरीले झुक्याएर आक्रमण गरेको प्रतिक्रिया दिनुभयो । पं्रहरीको सहमतिमा नयाँबानेश्वर चोक हुँदै संविधानसभाको तीन नम्बर गेट अगाडिबाट बिजुली बजारसम्म प्रदर्शन गर्न खोज्दा बीचैमा हस्तक्षेप भएको उहाको दाबी छ । थापाले आफूहरुको प्रदर्शनमा भएको हस्तक्षेपको निन्दा गर्दै घटनामा संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग गर्नुभयो ।
प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोडेर संविधानसभा भवनतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । अश्रुग्यास प्रहारपछि केही असक्त जस्ता देखिएका थापा कार्यकर्ता र पीएसओको सहायतामा त्यहाँबाट निस्कनुभएको थियो ।