घटनामा सशस्त्रका हवल्दार रामबिहारी थारुलाई जिउँदै जलाएर मारे।

काठमाडौं—कैलाली घटनामा सुरक्षाकर्मीलाई अमानवीय ढंगले मारिएको गृहमन्त्री बामदेव गौतमले सोमबार संसदलाई जानकारी गराएका छन्।  ’चारैतिरबाट निषेधित क्षेत्र तोड्न प्रयास भएपछि अतिक्रमण रोक्न प्रहरीले प्रयास गरेको थियो’, संसदमा गृहमन्त्रीले भने, ’२:२५ तिर एकैपटक नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दीमा पारेर बञ्चरो खुकरी हसिया र भालाले आक्रमण भयो।’ चारै क्षेत्रबाट आएकाहरुले थरुहटको नारा लगाउँदै राष्टिय झन्डा भूइमा लतारेको गृहमन्त्रीले बताए। ’बाटोमा अवरोध पुर्‌याउन ढुंगा विछ्याएर घटानास्थललाई सम्पर्क बाहिर राख्ने प्रयास गरियो’, उनले भने। घटनामा सशस्त्रका हवल्दार रामबिहारी थारुलाई जिउँदै जलाएर मारेको गृहमन्त्रीले जानकारी दिए। इन्सपेक्टर लक्ष्मण न्यौपानेलाई भाला बलराम बिष्ट र केशव बोहोरा र जवान लोकेन्द्र चन्ददलाई काटेर मारिएको उनले बताए।

अन्य तीन जनाको क्षतबिक्षत अवस्तामा शव फेला परेको गृहमन्त्रीले जानकारी दिए। ’सबैको नाम पाउन सकेको छैन केही हराइरहेका छन्’, गृहमन्त्री गौतमले भने। रौतहटको घटना उल्लेख गर्दै आन्दोलनमा भारतबाट मान्छे ल्याइएको गृहमन्त्रीले संसदलाई बताए। ’दक्षिणबाट धेरे मानिस सहर प्रवेश गरी जिल्ला प्रहरी कार्यालय र अदालतमा आक्रमण सुरु भएको छ’, उनले भने। गृहमन्त्री गौतमले नेपालीहरु सदियौंदेखि मिलेर बसेका नेपाली द्वेष फैलाउने काम गरिएको बताए। उनले जातीय द्वेष फैलाउनलाई सदन प्रयोग गर्न नदिन आह्वान गरे। ’जातीय द्वेष फैलाउने काम हुन गइरहेको छ। सद्‌भाव भड्काउन नदिन सदनले प्रस्ताव पारित गरोस्’, उनले भने। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालनको अधिकार दिइएको उनले बताए।