यी हुन् संविधानसभाका ‘डाक्टर’ सभासद्


देशको मुल कानुन संविधान बनाउने अवसर एक जुगमा एक पटक मात्र आउँछ । यो अवसरको सदुपयोग गर्ने जिम्मेवारीसहित ६ सय एक सभासद् संविधानसभामा सहभागी छन् । जनताबाट प्रत्यक्ष निर्वाचित र पार्टीबाट मनोनित सभासद्मध्ये कतिले संविधानसभामा सकारात्मक भूमिका खेलेका छन् । तर, कतिपयले भने पदको दुरुपयोग गरी राष्ट्रकै बद्नाम गरेका छन् ।

विद्यावारिधी र चिकित्साशास्त्रका गरी दुई दर्जन बढी डाक्टर सभासद् संविधानसभामा छन्  । तर, संविधानसभामा गाँठो परेको जनताको अधिकारको शल्यक्रिया गर्न डा.सभासद नै असफल देखिन्छन् ।

त्यत्तिमात्र होइन विवादास्पद छवीका व्यक्तिसमेत संविधानसभामा भित्र छन् ।  सभासद्ले कुर्सी हान्ने, टेलुल फुटाउनेसम्मका हर्कत गर्दा संविधानसभा स्वयम् बद्नाम पनि भएको छ ।

‘सयौँ थरी बाजा, एउटै ताल’ भन्ने राष्ट्रिय गीत जस्तै संविधानसभामा आ–आफ्नै खालको राजनीतिक इतिहास, शैक्षिक योग्यता, अनुभव र सीप बोकेका सभासद् छन् ।

विद्यावारिधीलाई शिक्षा क्षेत्रको उच्च योग्यता मानिन्छ ।  संविधानसभामा विद्यावारिधी सभासद्को संख्या करिब दुई दर्जन छ ।  डा. सभासद्को संख्या भने २८ छ  ।

डा.रामशरण महत
कांग्रेस डा. सभासद्
संविधानसभाको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने डा. सभासद्को संख्या ११ छ ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाकी पत्नी आरजु राणा (देउवा) देखि नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला पुत्र शशांक कोइरालासम्म डा. उपाधी प्राप्त सभासद् हुन् ।

त्यस्तै, अर्थमन्त्री रामशरण महत र पूर्व मन्त्री प्रकाशशरण महत पनि डा. उपाधी प्राप्त सभासद् हुन् । राणाले मनोविज्ञान-व्यवस्थापनमा विद्यावारिधी गरेकी हुन् भने कोइराला चिकित्साशास्त्रका डा. हुन् । महत दाजुभाइले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।

त्यस्तै, कांग्रेसकै नेता अमरेशकुमार सिंह, शहरी विकास मन्त्री नारायण खड्का, सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल पनि विद्यावारिधी प्राप्त सभासद् हुन् । सिंहले अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका हुन्  । खड्काले अर्थशास्त्र  र रिजालले व्यवस्थापनमा विद्यावरिधीको उपाधि लिएका छन् । रिजाल एपेक्स कलेजका सञ्चालक पनि हुन् ।

कांग्रेसकी आरजु राणा (देउवा) मनोवैज्ञानिक डाक्टर हुन् भने शशांक कोइराला चिकित्साशास्त्रका डाक्टर हुन् । रामशरण महत र प्रकाशशरण महत अर्थशास्त्रमा विद्यावारिधी गरेका डाक्टर सभासद् हुन् ।

त्यस्तै, राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव पनि डा. सभासद् हुन् । रेडियोलोजी डाक्टर यादव प्राध्यापक पनि हुन् । कांग्रेसका शेखर कोइराला र कृष्णबहादुर छन्तेल पनि डा सभासद्  हुन् । कोइराला चिकित्साशास्त्रका डाक्टर हुन् भने छन्तेलले व्यवस्थापनमा विद्यावारिधी गरेका छन् । छन्तेल प्राध्यापक पनि हुन् । गणेशकुमार मण्डल पनि डाक्टर सभासद् हुन् । उनी ‘मेडिकल साइन्स’का डाक्टर हुन् ।

एमाले डा. सभासद

त्यस्तै, संविधानसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)का तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने डा. उपाधिवाला र उपाधिको तयारीमा रहेका सभासद्को संख्या आठ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको मानार्थ पिएचडी हुन् । उनले संविधानसभामा  शैक्षिक योग्यतामा ‘अनररी पिएचडी’ उल्लेख गरेका छन् । एमाले उपाध्यक्ष भीम रावलले  शैक्षिक योग्यतामा ‘पीएचडी स्कलर’ लेखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको मानार्थ पिएचडी हुन् । गणेशमान गुरुङ प्रा डा हुन् । दुमन थापा पनि विद्यावारिधी उपाधिवाला सभासद् हुन् भने वंशिधर मिश्र चिकित्साशास्त्रका डाक्टर हुन् ।

एमालेको समानुपातिक कोटाका सभासद् गणेशमान गुरुङ प्रा.डा. हुन् । अर्घाखाँची–२ बाट प्रत्यक्ष चुनाव जितेका दुमन थापा पनि विद्यावारिधी उपाधिवाला सभासद् हुन् । गुरुङ र थापा दुवैले समाजशास्त्रमा विद्यावारिधी गरेका हुन्  ।

मनोनित कोटामा सभासद् बनेका राजन भट्टराई र समानुपातिक सभासद् भिष्म अधिकारी पनि विद्यावारिधी सभासद् हुन् । वंशिधर मिश्र चिकित्साशास्त्रका डाक्टर हुन् । सभासद् गंगालाल तुलाधर प्रादेशिक विकास योजना तथा विपद् जोखिम व्यवस्थापनमा विद्यावारिधी गर्दै छन् ।

एमाओवादीका डा. सभासद्

एमाओवादीका तीन सभासद् डाक्टर उपाधिवाला छन् । नेता बाबुराम भट्टराई ‘आर्किटेक्टर’ हुन् । उनले शहरी विकासमा विद्यावारिधी गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराई बौद्धिक नेताका रुपमा परिचित छन् ।

निकै विवादास्पद छवीका ल्यारक्याल लामा पनि विद्यावारिधी सभासद् हुन् । एमालेमा रहेका बेला अर्थ राज्यमन्त्री बनेका उनी विवादास्पद छवीकै कारण वर्खास्तीमा परेका थिए ।  मन्त्री पद चट् भएपछि एमाओवादीमा छिरेका लामा पहिलो संविधानसभामा एमालेको कोटाबाट सभासद् बनेका थिए । डा. उषाकिरण अन्सारी चिकित्साशास्त्रकी डाक्टर हुन् ।

फोरम डा. सभासद्

त्यस्तै, विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का तर्फबाट संविधानसभामा दुई डा सभासद् छन् । फोरमका समानुपातिक सभासद बाबुराम पोख्रेल विद्यावारिधी सभासद् हुन भने सुवोधकुमार पोख्रेल चिकित्साशास्त्रका डाक्टर हुन् ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट पनि संविधानसभामा दुई जना डाक्टर सभासद् सहभागी छन्, डा शिवजी यादव र डा. विरेन्द्र्रप्रसाद महतो । महतोले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।

अन्य डा. सभासद्

त्यस्तै राप्रपा, थारुहट तराई पार्टी नेपाल, संघीय सद्भावना पार्टी र तमलोपाका पनि एक–एक डाक्टर सभासद् छन् । थारुहटका गोपाल दहितले ‘बुद्धिज्म’मा विद्यावारिधी गरेका हुन् भने संघीय सद्भावनाका डिम्पलकुमारी झा आयुर्वेदका डा. हुन् ।

त्यस्तै, तमलोपाका विजयकुमार सिंह मेडिसिन डाक्टर हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विराज विष्ट राजनीतिशास्त्रमा विद्यावारीधी अध्ययनरत छन् ।

-