गीताले लगाइन आफ्नै शरिरमा आगो, आत्महत्या प्रयास

श्रावण १७ – बर्दिया ।

बर्दियाको मोहम्मदपुर गाविस–१ गणेशपुरकी ३१ वर्षीया गीता नेपाली शेषले शनिबार राति आफ्नै घरमा शरीरमा मट्टितेल छर्कीएर आगो लगाई आत्महत्या प्रयास गरेकी थिइन्।

उनी कोठामा एक्लै पसी आत्महत्या प्रयास गरेकी हुन्। मट्टितेल छर्कीएर सलाई कोरेर आगो लगाउने प्रयासलाई ससुरा रफिकअहमद शेषले असफल गरिदिएको र पछिल्लो पटक भने आगो लागिसकेको अवस्थामा चिच्याउँदै कोठामा भेटिएकी थिइन्। तत्काल घरपरिवार, छिमेकीले उपचारको लागि कालिका गाविस–५ शितलाबजार स्थित गुप्ता मेडिकलमा लगेका थिए। उनको त्यहाँ उपचार हुन नसक्ने बताएपछि तत्काल भेरी अञ्चल अस्पतालमा लगिएको थियो। गीताको कम्मरभन्दा माथि आगोले जलेको छ।
fired body
तीन दिनसम्म घटना सार्वजनिक भएको थिएन। गीताका घरपरिवारले उनले किन आगो लगाएर आत्महत्या गर्न खोजीन् भन्ने बारेमा केही पनि थाहा नभएको बताउँदै आएका छन्।

घटना हुने बेला उनको पति नैमुद्दिन शेष मोहम्मदपुर गाविस ४ स्थित स–मिलमा काठ चिराउन गएका थिए। गीता नैमुद्दिन शेषको जेठी पत्नी हुन्। घटना हुँदा कान्छी पत्नी शवना शेष घरमै थिइन्। घटना हुनु अगाडि गीताको कहीकतै कसैसँग झगडा नभएको र परिवारमा पनि राम्रै रहेको दाबी गर्दै आएका छन्।

गीताकी आफ्नै बुबा बृहष्पति नेपालीका अनुसार ज्वाई (नैमुद्दिन) विदेश छँदा माइत आउनजाने गरेपनि ज्वाई घर फर्केपछि पनि आउन बन्द भएको थियो। उनी किन आउन छोडेकी हुन् भन्ने थाहा हुन नसकेको बृहष्पति नेपालीले बताए। छोरीले आगो लगाएर किन आत्महत्या गर्न खोजिन् भन्ने बारेमा सम्बन्धीत निकाय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरे।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी गोविन्दराम परियारले घटनाको अनुसन्धान भइरहेको बताए र पीडितको उपचार बारे बुझ्न प्रमुख जिल्ला अधिकारीको एक टोली भेरी अञ्चल अस्पतालमा गएको छ।

नैमुद्दिन शेषले गीतासँग १५ वर्ष अगाडि भागि विवाह गरेकी हुन्। उनीबाट जन्मिएका दुई जना छोरी छन्। पाँच महिला अगाडि नैमुद्दिन रोजगारीको लागि मलेसिया गएका थिए। उनी एक महिना अगाडि मात्रै घर फर्केका हुन्।