नेपाली सेनाको टोली उद्धारमा खटिइसकेको थियो। तस्बिर खिच्न पुगेका उनले झोलाबाट क्यामेरा निकाल्न सकेनन्। 'मलिन अनुहारलाई लेन्सले होइन, आफ्नै आँखाले नियालेँ,' उनी भन्छन्। दुई घन्टा त्यहीँ बिताएका उनले रातको १०ः३० सम्म उद्धार कार्यमा सहयोग गरे। सेनाको टोलीले बालकको पत्तो लगाइसकेको थिएन। बाँकी उद्धारकार्य अर्को दिनलाई थाती राखेर सेनाको टोली हिँडेपछि अमुल पनि घर फर्किए।
'त्यो दृश्य देखेर आएपछि त रातभर सुत्नै सकिनँ,' उनी सम्भि्कन्छन्, 'आफ्नो घर भत्केकाले पालको सुताइ भयो तर मनचाहिँ रातभर मूलढोकातिर कुदिरह्यो।'
बिहान उज्यालो हुन नपाउँदै उनी मूलढोकातिरै हान्निए। 'साढे पाँच बजे पुग्दा सोनिशका बा–आमामात्र थिए, अरू कोही नआएकाले एक राउन्ड भक्तपुर चक्कर मारेँ।'
भूकम्पले खण्डहर बनाएको भक्तपुरको केही तस्बिर लिएर उनी मूलढोका फर्किंदा सेनाको टोली उद्धारमा खटिइसकेको थियो। 'सेनाले एकदमै संवेदनशील भएर काम गरिरहेको थियो,' अमुल भन्छन्, 'सेनालाई अनुरोध गरेर घेराभित्र छिरेँ र केही समय स्वयंसेवामा जुटे। किनकि यो मेरो लागि पनि संवेदनशील समय थियो।'
उद्धारकार्यमा जुटेको सेनाको तस्बिर खिच्दै गर्दा साढे आठ बजेतिर बालक रोएको आवाज सुनियो। 'बालक जिउँदै छ भन्ने लागेपछि उद्धारमा अफ्ठ्यारो हुन सक्ने ठानेर बाहिर खबर गरिएन,' उनले सुनाए, 'मेरो अनुहार नियालिरहेका सोनिशका बुवातर्फ फर्केर बालक जिउँदै रहेको संकेत गरेँ, तर उनले बुझेनन्।'
लामो प्रयासपछि बिहान १० बजेतिर बालकलाई सकुशल निकालियो। सोनिशको अनुहार धुलोले ढपक्कै ढाकेको थियो। एउटा हातको मुठ्ठी कसिएको थियो, अर्कोले मुहार छोपिरहेको। उद्धारमा खटिएका सेनाले फु... गर्दै धुलो झारे, र माथि उचाले। ठिक त्यही बेला अमुलले खिचेको तस्बिरले पछि देश–विदेशमा चर्चा पायो।
२२ घन्टासम्म पुरिँदा पनि बालकको अनुहार गलेको थिएन। धुलोले छोपेको मात्रै, चमक उत्तिकै थियो।
हजारौं घर भत्किएको र कैयौंको ज्यान गुमाएर शोकमा डुबेको भक्तपुर बालकले पुनर्जीवन पाएसँगै खुसीमा रमायो। स्वास्थ्य परीक्षणका लागि बालकलाई अस्पताल लगेपछि उनी अफिसतिर लागे।
२२ घन्टापछि उद्धार गरिएको बालकको तस्बिर सम्पादकलाई देखाउनासाथ उनी निक्कै खुसी देखिए। 'निराशाको कालो बादलमाझ यो आशाको केन्द्र थियो,' उनी भन्छन्, 'जतिसक्दो चाँडो प्रकाशन गर्ने अभियानमा लाग्यौं।' स्टोरी लेखिसकेर फोटो अपलोड गर्दै थिए, तब बित्यास पर्योन। प्राविधिक कारण इन्टरनेट कनेक्सन हुन सकेन। खुसीको शृंखला टुट्यो।
उनी निराश भएर पुनः काममै फर्र्किए। त्यो दिन फोटो छापिएन। 'आफूलाई अत्यधिक मन परेको फोटो प्रकाशन गर्न नपाउँदा निक्कै पीडा भयो,' उनले भने, '१४ गते बिहान सिन्धुपाल्चोक पुगेपछि मात्रै अफिसबाट फोटो अपलोड भएको जानकारी पाएँ। केही बेरमा त सबैतिर त्यसैको चर्चा भएको खबर आयो।'
दुई सेनाले उचालिरहेको धुलोसरिको बालकको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल बनिसकेको थियो। तत्कालै कार्यलयमा फोन र मेल आउन थाले। बधाई दिनेहरूका कारण अमुलको मोबाइल दिनभरजसो व्यस्त हुन थाल्यो। 'फेसबुकमा फ्रेन्ड रिक्वेस्टको सख्ंया ह्वात्तै बढ्यो। इनबक्समा पनि बधाई सन्देशहरू निकै आएका थिए,' उनी खुसी हुँदै भन्छन्, 'देश–विदेशका नाम चलेका सञ्चारमाध्यमले अन्तर्वार्ताको लागि समय माग्न थालिसकेका थिए।'
चारैतिर भूकम्पले तहसनहस बनाएको समयमा बालकको उक्त तस्बिरले खुसीको सञ्चार गर्योर। विभिन्न देशबाट आएका मानिसले अमुलसँगै बालक र उनका बुवा–आमालाई भेट्न थाले। कतिपयले बालकका परिवारलाई सहयोग प्रदान गरे।
अमुलको उक्त तस्बिर छाप्न विदेशी सञ्चारमाध्यमहरूले अनुमति लिएका थिए। 'फोटो छापेबापत अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रकम दिए पनि भारतीय सञ्चारमाध्यममले त्यसो गरेन,' उनी सुनाउँछन्, 'कसैले क्रेडिट र रकम दिए, कसैले केही पनि दिएनन्।'
अमुलको उक्त तस्बिरले अहिलेसम्म चार लाख रुपैयाँ कमाइसकेको छ। जसको केही भाग उनले पनि पाएका छन्। 'मलाई त्यही एउटा तस्बिरले नाम र दाम दुवै दिलायो,' उनी गर्वसाथ भन्छन्, 'त्योभन्दा बढी आत्मविश्वास र ऊर्जा मिलेको छ।'