तर सुपरस्टारका योग्यताहरु के के हुन् ? सुपरस्टार हुनलाई उसले लिने पारिश्रमिक, बक्स अफिस, इन्फ्लुयन्सजस्ता कुरामा पनि ध्यान दिनुपर्ने उनको मत छ । यसलाई अर्को कन्टेस्टका रुपमा लिनुपर्छ उनी भन्छन् । उनको अनुभवमा सुपरस्टारले खेल्ने फिल्ममा नाफाको ग्यारेण्टी गर्न सकिन्छ । तर, नेपालमा अहिले राजेश हमाल हुन् वा रेखा थापा कसैलाई लिएर फिल्म बनाइयो भने पनि त्यसले नाफा कमाउँछ भन्ने कुनै ग्यारेण्टी छैन ।
रेखा अभिनित पछिल्लो फिल्म 'तथास्तु'का निर्देशक सविर श्रेष्ठ पब्लिकले चिन्ने अनुहार र फ्यान फ्लोइङको भब्यताले उनलाई सुपरस्टार बनाएको बताउँछन् । 'पक्कै पनि उनी सुपरस्टार हुन्,' १४ वर्षदेखि रेखासँग निकट रहेर काम गरिरहेका निर्देशक श्रेष्ठले भने, 'उनको नामैले मान्छेहरु उत्साहित हुँदैं हलसम्म आउँछन् । यो सुपरस्टारमा हुने स्टारडम नभएर के हो ? उनमा आर्टिष्ट स्टार क्रेज छ ।'
उनले रेखाको कामप्रतिको बफादारिता, जोश, जागरले उनलाई सफल बनाएको बताए । 'उनमा कामप्रतिको बफादारिता गज्जबको छ,' उनी भन्छन्, 'उनी एकदमै इनरजेटिक नायिका हुन् ।' यसैले नै रेखालाई ठूलो स्टार बनाएको उनको बुझाइ छ ।
'लुट', 'टलंकजंग भर्सेस टुल्के'लगायतका पछिल्लो समयका हिट फिल्म निर्देशन गरेका निश्चल बस्नेत पनि रेखालाई सुपरस्टार मान्छन् । उनी के कारणले सुपरस्टार हुन् ? भन्ने प्रश्नमा युवा निर्देशक बस्नेतले भने, 'जसको नामैले मात्र पनि फिल्म चल्छ । नेपालमा एकजनाको नाममात्र हेरेर फिल्म बिक्ने उनी एक्ली अभिनेत्री हुन् । त्यसैले उनी सुपरस्टार हुन् ।'
पत्रकार एवम् फिल्म समीक्षक दिपेन्द्र लामा भने सुपरस्टार हुने उचाइ नेपालका कुनै सेलिब्रेटीमा नभएको बताउँछन् । 'सुपरस्टार भन्न मिल्दैंन । उनले अभिनय गरेका सबै फिल्महरु नाफा कमाएको पनि देखिदैंन । लगानी गर्दा सुरक्षित हुने सेलिब्रेटी सुपरस्टार बन्न सक्छन्,' उनी भन्छन्, 'यो रेखा थापालाई दिइएको 'इन्र्फमल विश्लेषण' हो ।' उनी अनौपचारिक रुपमा कसैले रेखा थापालाई 'महानायिका' त कसैले स्टार भन्न सक्ने बताउँछन् । तर, दीपेन्द्रको विश्लेषण छ- समकालीन नायिकाहरुमा बढी अनुहार चिनिने र जनताले चासो राख्ने नायिका भने रेखा नै हुन् ।
विकिपेडियामा उल्लेख भएअनुसार ३२ वर्षीया रेखा मोरङमा जन्मिएकी हुन् । आजभन्दा झण्डैं १५ वर्ष पहिले सन् २००० मा उनले नेपाली फिल्म 'हिरो'बाट नेपाली कलाकारितामा डेब्यु गरेकी थिइन् । १६ वर्षकै उमेरमा चलचित्र क्षेत्रमा आएकी रेखाले १ सय बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।
१५ वर्ष रेखा जसरी नेपाली फिल्ममा चलिन । त्यो बीचमा हजारौं नायिकाहरु नेपाली सिने नगरीमा स्टार बन्ने सपना बोकेर आए । ती मध्ये केही मात्र जमे अरु सबै फलप भए । तर, फिल्ममा टिकेका नायिकाहरुले पनि रेखा थापाकोजस्तो स्टारडम निर्माण गर्न सकेनन् । अहिले रेखा थापा अभिनेत्री तथा निर्माताका रुपमा नेपाली फिल्म अझै निरन्तर जमेकै छिन् ।
रेखाको प्रभाव अझ नेपाली गाउँहरुमा बढी छ । प्रवासी नेपालीहरुमाझ पनि उतिकै लोकपि्रय छिन्, रेखा । जो उनको फेसबुकमा फ्यानहरु हेर्दा पनि स्पष्टै देखिन्छ ।
गत फागुनमा भारतमा आयोजित 'होली हंगामा' कार्यक्रममा सहभागी हुन पुगेकी रेखालाई आयोजकले 'महानायिका'को उपाधि दिए । राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले 'महानायक'को उपाधि दिएको थियो । रेखा थापालाई उनका भारतमा रहेका प्रशंशकहरुले 'महानायिका'को उपाधि दिए ।
१५ वर्षको अवधिमा रेखाले आफूलाई अभिनेत्रीका रुपमा मात्र सिमित राखेकी छैनन् । उनले आफ्नो परिचयको दायरालाई पनि फराकिलो पारेकी छिन् । निर्माता बनिसकेकी रेखा आगामी फिल्म 'रामप्यारी'बाट निर्देशक बन्दैंछिन् । उनी आफै लेखक, राजनीतिज्ञ, सोसल वर्कर पनि हुन् ।
रेखा थापा फाउण्डेशन खोलेर उनी सामाजिक कार्यमा पनि सक्रिय छिन् । सम्भवतः आफ्नो नाममा फाउण्डेशन खोलेर सामाजिक क्षेत्रमा लाग्ने रेखा पहिलो नेपाली अभिनेत्री हुन् ।
उसो त रेखा थापा राजनीतिक आवद्धता कारण पनि चर्चामा रहिन् । उनी पछिल्लो समयमा एकीकृत माओवादी निकट छिन् । गत संविधानसभामा उनले सभासदको टिकट पाउने चर्चाले पनि बजार तातेको थियो ।
उसो त रेखाका हरेकजसो गतिविधीहरु बढी चर्चामा रहन्छन्, त्यो सुदर्शन थापासँगको प्रेम प्रसंग होस वा राउटेका वालवालिका पढाउने कुरा । उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग नृत्य गरेको प्रसंग होस वा संसारकै सबैभन्दा छोटा मान्छे खगेन्द्रलाई चुम्बन गरेका कारण होस् । उनको चर्चाको दुनियाँ पनि उतिकै शक्तिशाली छ ।