नेपालगन्जमा मधेशी मोर्चा र प्रहरी सेनाबिच हानाहान (भिडियो सहित)



नेपालगन्ज, असोज ९ । नेपालगन्जको नेपाल–भारत नाका रुपहडियामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच शनिबार झडप भएको छ ।

रुपहडिया भन्सारमा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप भएको हो । मोर्चाका कार्यकर्ताले दशगजा क्षेत्रबाट प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक दीलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कमल बिक र कमल खनाल घाइते भएका छन् । उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

करिब दुई सयको संख्यामा रहेका प्रदर्शनकारीले दशगजा क्षेत्र र भारतीय भूमिमा बसेर प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले भन्सारमा अवरोध पुर्‍याउन खोजेपछि तनावको स्थिति सिर्जना भएको हो ।