नाका बन्दको कारण भारतीय समुदाय र नेपाली सुरक्षा कर्मीबिच हानाहान (भिडियो सहित)

भैरहवा–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु बसेको धर्नालाई प्रहरीले हस्तक्षेप गरि हटाएको छ । सीमानाकामा धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा दशगजा क्षेत्रमा झडप भई केही बेर अवस्था तनावग्रस्त बनेको थियो ।

दिउसो ३बजे तिर तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्दयेश त्रिपाठीको नेतृत्वमा धर्ना बस्ने कार्यक्रम बमोजिम शान्तीपूर्ण प्रदर्शन माथि प्रहरीले बल प्रयोग गरेको मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले दाबी गरे ।
सीमा क्षेत्र बेलहियाका स्थानियहरुले हिजो देखि नै नाकामा प्रदर्शन गर्न नदिने बताएपछि आन्दोलनकारीकै सुरक्षाको लागि धर्ना बस्न नदिएको प्रहरीको भनाई छ । धर्ना बस्न नदिई प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएपछि मोर्चाको कार्यकर्ताहरुले सीमा पारी सोनौली र दशगजा क्षेत्रबाट प्रहरी माथि ढुंगामुढा गरेका थिए ।
मधेशी मोर्चाले गरेको ढुङ्गा मुढाको स्थानिय बेलहिया वासीले पनि बिरोध गर्दै भारत तर्फ ढुङ्गा मुढा गरेका थिए ।
सीमामा तनाव बढदै गए पछि दुवै देशको सुरक्षाकर्मिको संयुक्त प्रयास पछि स्थानियलाई नेपाल तर्फ र आन्दोलनकारीलाई भारत तर्फ धपाएका छन् । सीमामा भएको तनावको कारण मंगलबार समाचार तयार पार्दा सम्म कुनै सवारी भित्रिन सकेका छैनन् । पारी सोनौलीमा भएका मालवाहक ट्रक पनि भारतीय पक्षले उतै फर्काईरहेका छ । ढुङ्गा मुढाबाट कोही घाईते भएको खबर छैन । मधेशी मोर्चाको कार्यकर्ताहरु योगेन्द्र यादव र आकाश भन्ने मोहम्मद सफिकलाई नियन्त्रणमा लिईएको रुपन्देहीका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताए । झडप पछि सीमापारीको सोनौली बजार पनि बन्द भएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस