उपभोक्ता हित संरक्षण मञ्च तथा संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्षहरु अधिवक्ताद्वय डा चन्द्रकान्त ज्ञवाली र ज्योति बानियाँले संयुक्तरुपमा दायर गरेको रिट निवेदनमा नेपाल–भारतबीच भएका सन्धि–सम्झौतालाई कार्यान्वयन गरी नाका २४सैँ घन्टा निर्वाधरुपमा सञ्चालन गरी वस्तु तथा सामान आवातजावत गर्न/गराउन प्रबन्ध गराउन भनिएको छ ।
रिट निवेदनमा अदालतबाट आदेश जारी भएपछि पनि सीमा अवरोध भइरहेमा नेपालमा भारततर्फबाट सीमा अवरोधका कारणले देखापरेको सङ्कटको विषयमा र भारतले हाल गरिरहेको सीमा अवरोधको विषयमा संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार सङ्घको सुरक्षा परिषद्मा सूचना गर्नु/गराउनु भनिएको छ ।
नेपालमा पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आयात अवरोध तथा वितरण प्रणालीको सम्बन्धमा नागरिकलाई जानकारी उपलब्ध गराउन तथा सम्बोधन गर्न र आवश्यक प्रबन्ध आदेश माग रिट निवेदनमा गरिएको छ ।
नेपाल–भारत दुवै असल छिमेकी भई संयुक्त राष्ट्र सङ्घ, विश्व व्यापार सङ्गठनका सदस्य मुलुक भएर दुवैले सन्धि÷सम्झौतामा हस्ताक्षर गरेकाले असल मनसायका साथ अनिवार्यरुपले पालना गर्नुपर्ने उल्लेख गर्दै रिट निवेदनमा सन्धि÷सम्झौताअनुसार भारतले आफ्ना भन्सार नाकाबाट आयात अवरुद्ध गरेको विषय सुरक्षा परिषद्मा उजुरी समेत नदिई सरकारले उदासिन भइरहेको समेत उल्लेख छ । रासस