पोल सुनेर ओलीले सुशीललाई बालुवाटारमै थचारेपछि…

काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले साउन १३ गते बुधबार बालकोटमै पुगेर पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेसका केही मन्त्रीहरुको बारेमा पोल लगाए ।यदि तपाईकै तहबाट काँग्रेस नेतृत्वसँग कुरा नगर्ने हो भने पेलपाल पारेर मुख्यसचिव र पुनर्निर्माण प्राधिकरणको नेतृत्व दुवै काँग्रेसले लाने भए भन्ने उनले सुनाएपछि ओली गम्भीर भए ।त्यसपछि भोलिपल्टै ओली पार्टीका केही नेताहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगे । एमालेको नेतृत्व नै बालुवाटार पुगेपछि कोइरालाले अब सबै कुरा ऊ गर्नु परो, पुननिर्माण प्राधिकरणमा गोविन्द पोखरेल र मुख्य सचिवमा विश्वप्रकाश पण्डितलाई ऊ गरौं भनेपछि ओली आगो भए ।

उनी केहीबेर नबोली फिस्स हाँसेर बसे । कोइराला अझ अघि बढेर महेश आचार्य, नरहरि आचार्य लगायततिर इशारा गर्दै अब यही भो होइनत भन्दै उठ्न खोजेपछि ओलीले कोइरालालाई थचार्ने शैलीमा बसाए ।‘तपाईहरुले के सोच्नुभएको छ ? यो देशमा काँग्रेसबाहेक अरु केही छैन भन्ने सोच्नु भयो ? मनपरी गर्ने ? एकलौटी गर्ने ? ल गर्नुस्, म पनि देखाउँछु के गर्नुपर्छ भनेर’ ओली निकै आक्रामक बनेर हकार्न थालेपछि कोइराला लत्रक्क परे ।ओलीले विगतका अन्य निर्णयहरुमा पनि मनपरी भएको भन्दै मुख्यसचिव र पुननिर्माण प्राधिकरणको नेतृत्वमा त्यो प्रवृत्ति दोहोरिएमा ठीक नहुने चेतावनी दिएपछि विश्वप्रकाश पण्डित र गोविन्द पोखरेलको नाम बोकेर बसेका कोइराला हच्किएको स्रोतले जनाएको छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।